केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका छन्।
४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।
प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार साँझ ५ बजे सकिँदै छ।
मुख्यमन्त्रीमा दाबी गरेका कार्कीले आफूहरू प्रदेश प्रमुखकोमा आइपुगेको सेतोपाटीलाई बताए। ‘हामी बहुमत (४७) जना सांसदहरू प्रदेश प्रमुखकोमा आइपुगेका छौं,’ उनले भने।
प्रदेश प्रमुखकोमा पुगेका एमालेका सांसद एकराज कार्कीले हस्ताक्षर सनाखत गर्न परे आफूहरू तयार रहेको बताएका छन्।
‘केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्छ। हामी ४७ जना सांसद आएका छौं,’ उनले भने, ‘परे हस्ताक्षर पनि सनाखत गरौं।’ हिक्मत कार्कीसहित एमालेका सांसदहरू पनि प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।
मुख्यमन्त्रीमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा) का तर्फबाट इन्द्र आङ्बोले पनि दाबी प्रस्तुत गरेका छन्।
आङ्बोले पनि ४७ जना सांसदकै हस्ताक्षर बुझाएकाले प्रदेश प्रमुख कानुनी परामर्शमा छन्।
कोशी प्रदेशमा सरकारको दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ।