नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन्।
अध्यक्ष ओलीले पार्टीभित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरूलाई निर्देशन दिएका छन्।
‘अहिले हाम्रो पार्टीमा बुझ्नुपर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो। म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्वीकार गर्नुस्। एक इन्च पनि स्वीकार नगर्नुस्। हरेक ठाउँमा अस्वीकार गर्नुस् अराजकतालाई। जनवादमात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन, बजार बुझ्यो’, उनले भने।
अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन चाहिएको बताए। ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताए।
उनले भने, ‘अहिले सजिलो भएको छ–म महासचिव मान्दिनँ। म महासचिव मान्दिनँ। के भनेको त्यो? म उपमहासचिव मान्दिनँ। म फलानालाई मान्दिनँ। के भनेको त्यो? त्यस्तो भन्ने साथी पार्टी छ कि छैन भनेर बुझ्ने? कसलाई मान्छ त? घरमा गएर बालाई मान्छ? आमालाई मान्छ? मान्नै पर्छ नि। यहाँ पार्टीमा त संगठन मान्ने कुरा हो। त्यसकारण यो मान्दिनँ, ऊ मान्दिनँ भन्ने! यसो भन्ने, उसो भन्ने! यो खालको कुरा अनुशासनहीन अराजकताका कुरा हुन्।’
शुक्रबार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए।
‘पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ। जनवादीसहितको तर हो चाहिँ के भन्दा केन्द्रीयता। केन्द्रीयता सहितको जनवाद होइन, केन्द्रीयतावादी जनवाद होइन। जनवादी केन्द्रीयता। केन्द्रीयता नभई पार्टी हुनै सक्दैन। केन्द्र नभई देशभरीको पार्टी के हुन्छ? हरेक सदस्य ऊ आफैं पार्टीको सिंगो रचना त हुन सक्दैन नि। पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरूको पालना कसरी हुन्छ?’, उनले भने, ‘त्यसकारण पार्टीको संरचना नीति स्वीकार गर्नु पर्दछ। विधि स्वीकार्नु पर्दछ भनेको त्यो नीति कार्यान्वयन गर्ने तौरतरिका संगठनात्मक संरचना र त्यसको परिचालन। अब व्यक्तिहरूको परिचालन विभिन्न समूह बनाएर परिचालन गर्ने कुरा हो। पार्टी भनेको अनुशासनयुक्त हुन्छ। त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ।’