कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पार्टीकै सदस्यको नेतृत्वमा सरकार बनाउन सफल भएकोमा आफूलाई काँग्रेसले स्याबासी दिने अपेक्षा गरेको बताएका छन्।
शनिबार मुख्यमन्त्री नियुक्त भएपछि सेतोपाटीसँग कुरा गर्दै कार्कीले भने, ‘पार्टीले चुनावमा टिकट दिएर, जिताएर प्रदेशसभामा पठाएको संविधान अनुसार काम गर, जनतालाई सेवा देऊ भनेर हो। हामीले संविधान अनुसार बहुमत पुर्याएर सरकार बनाएका छौं। संविधान ऐन, कानुन पालना गरेर मुख्यमन्त्री बनेकामा पार्टीले बधाइ र स्याबासी नै दिनेछ भन्ने मलाई लाग्छ।’
आफूलाई अहिलेसम्म पार्टीले कारबाही नगरेको, स्पष्टीकरण पनि नसोधेको उल्लेख गर्दै उनले आफूले विद्रोह गरेको नभइ संविधानले दिएको अधिकार प्रयोग मात्रै गरेको बताए।
उनले सहमतिका साथ प्रदेशलाई अघि बढाउने बताए।
‘सरकार बनाउने कुरा अब छलफल गर्दै अघि बढ्छ, मलाई जसले मुख्यमन्त्री बनाउनुभयो, उहाँहरुसँगको सल्लाह महत्वपूर्ण हुन्छ’, कार्कीले भने, ‘तर, मुख्यमन्त्रीका रुपमा सबै सांसद बराबर हुन्। सबैको एकता आवश्यक छ। सबै दलसँग सहकार्य गरेरै म अघि बढ्नेछु।’