राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीचको ध्रुवीकरण तीव्र पार्नुपर्ने बताएका छन्।
कोशी प्रदेशमा नेपाली कांग्रेसका केदार कार्कीलाई नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाएको भन्दै उनले दुई पक्षधरहरूबीच ध्रुवीकरण गर्नुपर्ने बताएका हुन्।
उनले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिल्नुपर्ने भन्ने आफूहरूको निरन्तरको सुझाव भएको पनि बताए।
‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो। अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं। हामी विपक्षमा...’
कोशी प्रदेशमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। तर त्यसविरूद्ध कांग्रेस नेता शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको हो।