कोशी प्रदेशको सरकारमा एमाले सहभागी हुने सम्भावना टर्दै गएको छ।
एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं आएका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्कीलाई मुख्यमन्त्री बनाएका कांग्रेस नेता शेखर कोइराला निकट स्रोतका अनुसार आइतबार शपथ लिँदा कार्कीले कांग्रेसकामात्रै नेताहरू सहभागी गराउने तयारी गरेका हुन्।
‘सम्भवत: उहाँले आज अस्ती समर्थन दिने नेपाली कांग्रेसका ८ जना मध्येबाट बढीमा २ जनालाई मन्त्री बनाउनुहुनेछ। गठबन्धनका अरू नेताहरूलाई कसरी सहभागी गराउने भन्नेबारेमा विस्तारै छलफल हुँदै जान्छ,’ कांग्रेसका एक पदाधिकारीले भने।
यसअघि एमाले कार्की नेतृत्वकै सरकारमा आजै सहभागी हुने तयारी गरेको थियो। तर कांग्रेस र एमाले बाहेक अरू दललाई पनि समेटेर सरकार बनाउने हो भने आफूहरू सहभागी नहुने कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।
‘सरकारमा अरू दलहरू पनि सहभागी गराउने निर्णयमा मुख्यमन्त्री पुग्नुभयो भने चाहिँ हामी यो सरकारमा सहभागी हुँदैनौं,’ कार्कीले भने, ‘उहाँलाई मुख्यमन्त्री बनाउँदाको सहमति कायम भयो भने सरकारलाई समर्थन पनि रहन्छ, विश्वासको मत पनि दिन्छौं र सहभागी पनि हुन्छौं।’
शनिबार बिहान सत्तागठबन्धन कायम राख्न दृढ रहेको भन्दै कोइरालाले सहमतिमा हस्ताक्षर गरेका छन्। सोही सहमतिअनुसार अघि बढ्न कोशीका मुख्यमन्त्री कार्कीलाई कोइरालाले निर्देशन दिएका छन्।