नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन्।
कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे आइतबार सार्वजनिक रूपमा धारणा राखेका शर्माले गणितीय जटिलता र पहिचान आन्दोलन सम्बोधन गर्न दुवै महामन्त्रीले एमालेसहित गठबन्धन गर्न पहिले नै प्रस्ताव गरेको उल्लेख गरेका छन्।
‘कोशी घटनालाई `डढेलो´ बन्न नदिन संयम र परिपक्वता राखौं। गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- कोशीमा एमालेसहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनले पार्टीको संस्थागत निर्णय भने सबैले मान्नुपर्ने बताएका छन्।
‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित भएको हो l कांग्रेसको संस्थागत निर्णय पनि यहि होl पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं तर पार्टीको संस्थागत निर्णय मान्यौं,’ उनले भनेका छन्l
यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरिनुपर्ने पनि उनको भनाइ छ।
‘सधै यही गठबन्धन यो बोकिरहनुपर्छ, जरुरी छैन। तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्नl सल्लाहले `डिभोर्स´ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न,’ उनले भनेका छन्, ‘पुस १० पनि नबिसौं। माओवादीको यक्ष प्रश्न- कोशिमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, कांग्रेसलाई दुइपटक `ब्ल्याङ चेक´ दियौं l तेस्रोपटकमा हामीले किन नपाउने? कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने? यो गठबन्धन दलहरुको कि गुटहरुको?’
उनले प्रदेशमा आलोपालो सरकार बनाउने सहमति भएको पनि बताएका छन्।
‘कोशी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन। सबै प्रदेशमा आलोपालो हुने होl परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छl गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छl एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ,’ उनले भनेका छन्।
उनले सहकार्यको संस्कृति पालना गर्न निर्वाचनले नै निर्देश गरेको बताएका छन्।
‘गणितनै त्यस्तो छ- एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैनl यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छl अनि जरुरी छ गम्भीर आत्मसमीक्षा,’ महामन्त्री शर्माको भनाइ छ।
उनले कोशीको मुख्यमन्त्री उम्मेदवार चयन गर्दा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला दुवैले संस्थागत प्रक्रिया नअपनाएकोमा असन्तुष्टि पनि जनाएका छन्।
‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र `साझा मत´ खोज्नुभयोl थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्नl जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस्l हामी बदलिन तयार छौंl पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ,’ उनले भने।
कोशीमा सत्तागठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो। तर नेता शेखर कोइराला पक्षका कोशीका कांग्रेस सांसदले यो निर्णय अस्वीकार गर्दै केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि बढाएका थिए।
नेकपा एमालेका ३९ र शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की कोशीमा मुख्यमन्त्री नियुक्त भएका थिए।