उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बिआरआई सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन्। गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार चीन गएका हुन्।
मंगलबार र बुधबार बेइजिङमा हुने सम्मेलनमा हरित विकासम्बन्धी उच्चस्तरीय नीति र प्रगतिबारे छलफल हुँदैछ।
सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत् छुट्टाछुट्टै निम्तो पठाएका थिए।
वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन्। उपप्रधानमन्त्री श्रेष्ठ र वाङबीच द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ।
सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि चिनफिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन्। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन्।
चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बिआरआईसम्बन्धी सम्मेलन गरेको थियो। बिआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत क्षेत्रमा चीनको अन्तर्राष्ट्रिय कार्यक्रम हो।
भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेललगायत छन्।