उपप्रधान मन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने भन्दै गलत प्रचार भइरहेको बताएका छन्।
काठमाडौंमा सोमबार भएको पत्रकार महासंघको कार्यक्रममा बोल्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्टाएका हुन्।
उनले अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरेका थिए। नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधान सेनापति बनाउने कुरा झुटो रहेको उनले बताए। नेपाली सेनाको प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड रहेको उनको भनाइ छ।
सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने उनले बताए।
‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय- गलत सूचनाका आधारमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ। नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने सन्दर्भलाई जोडेर। गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुन्छ। नेपाली सेनाको एक जना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर, म्याद थपको सन्दर्भ जोडेर ठूलो छलफलको विषय बन्यो। त्यसलाई स्पष्ट पार्दा पनि केही दिनदेखि भावी सेनापतिको निर्माण सन्दर्भलाई जोडेर पनि समाचार आएको छ।’
सहायक रथी अधिकारी तत्कालीन माओवादीका लडाकूबाट नेपाली सेनामा समायोजन भएका थिए।
‘अहिले सेनाको नियमावली चलाएर, के-के गरेर यमप्रसाद अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए। आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने। यी सबैकुरा मिथ्या हुन्, झुटो हो,’ उनले भने, ‘प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड छ। सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ।’
(न्युज एजेन्सी नेपाल)