नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्था, नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले कालो ब्यानर राखेका छन्।
भदौ ३ मा आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा नआएको विरोधमा कालो ब्यानर राखिएको नेविसंघ नेता विनोद शाही ठकुरीले बताए।
‘हामीसँग चार बुँदे सहमति गरे पनि पार्टी र नेविसंघले कार्यान्वयन गरेको छैन,’ उनले भने, ‘पार्टी कार्यालय र गेटमा ब्यानर राखेर हामीसँग गरिएका सहमति सम्झाएका छौं।’
नेविसंघ असन्तुष्ट पक्षले सोमबार 'भदौ ३ मा हामीसँग गरिएको सहमति खोइ' लेखिएको ब्यानर राखेका हुन्।
रिले अनशन बसेका नेविसंघ असन्तुष्ट पक्षसँग गत भदौ ३ मा चार बुँदे सहमति भएको थियो।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, पूर्वअध्यक्ष राजीव ढुंगाना र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलको उपस्थितिमा सहमति भएको थियो।
नेविसंघ असन्तुष्ट पक्षको उचित व्यवस्थापन, १२ औं महाधिवेशन सुनिश्चितता, तदर्थ समिति विस्तारलगायत सहमति भए पनि कार्यान्वयनमा नआएको असन्तुष्ट पक्षले बताएको छ।
सभापति शेरबहादुर देउवाले नेविसंघ ७१० सदस्यीय बनाए पनि अझै असन्तुष्टि कायमै छ।