कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची भएको प्रदेश सभा बैठक साढे १२ बजेबाट सुरू हुने प्रदेश सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने भएका छन्।
एमालेका ३९ जना सांसदको समर्थनका कांग्रेसका कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए।
कार्कीले मुख्यमन्त्रीको शपथ लिएको दिन एमालेबाट पनि एक जना मन्त्री बनेका थिए। आफ्नो समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले विश्वासको मत दिन लागेको हो।
माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ।
कांग्रेस कोशी संसदीय दलको बैठक अहिले बसिरहेको छ। कांग्रेस केन्द्रले कार्कीलाई विश्वासको मत दिन निर्देशन पठाइसकेकाले त्यही अनुसार निर्णय हुने एक सांसदले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कार्की सरकारको विपक्षमा उभिने निर्णय गरेको छ। राप्रपा कोशी संसदीय दलका नेता भक्ति सिटौलाले आफ्नो दल विपक्षमा बस्ने बताए।
संघीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी भने अहिलेसम्म अनिर्णीत छ।
कोशीमा जसपाकी एक जना सांसद निर्मला लिम्बू हुन्।
प्रदेश सभा बैठक सुरू हुनु केही समयअघि सेतोपाटीसँग कुरा गर्दै लिम्बूले विश्वासको मत दिने कि नदिनेबारे केही टुंगो नभएको बताइन्।
‘खै के गर्ने हो, अहिलेसम्म थाहा छैन,’ उनले भनिन्।
प्रदेश सभा बैठक बस्नुअघि संघीय सत्ता गठबन्धनमा रहेका दलका प्रदेशस्तरीय नेताहरूको बैठक बस्न लागेको छ।
उक्त बैठकपछि जसपाले विश्वासको मतबारे निर्णय गर्न सक्ने छ।