नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनकै सरकार बनाइदिएकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएका छन्।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको प्रस्ताव पेश गरेपछि छलफलमा भाग लिएका राईले ४७ जना सांसदको समर्थनमा रहेको सरकार ढालेर ४७ जना नै बोकेर एमाले सरकार बनाउन लागेको बताए।
‘कोशीमा गठबन्धन सरकार बनाउन सकस थियो। गठबन्धन सरकार बनाइदिएकोमा एमालेलाई धन्यवाद,’ प्रदेश सभामा बोल्दै उनले भने, ‘अनेक बहाना गरेर बहुमतको सरकार टिक्न र चल्न नदिने? ४७ जना बोकेर सरकार बनाउन लाग्नु कति नैतिक हो?’
उनले मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै कुनै बहादुरी नगरेको पनि बताए। ‘यसरी मुख्यमन्त्री बन्ने प्रस्ताव हामीलाई पनि नआएको होइन। तर चुनावी गठबन्धनको प्रतिबद्धताले मुख्यमन्त्री बन्न चाहेनौं। त्यसैले अहिले मुख्यमन्त्रीको कदम बहादुरी हो भन्न जरूरी छैन,’ उनले भने।
उनले अहिले बनेको गठबन्धन अस्वभाविक भएको पनि बताए।
‘सिद्धान्तत: हामीले अहिले समर्थन गर्न नमिल्ने हो,’ उनले भने, ‘तर हामी मत दिन्छौं, गठबन्धनले निर्णय नै गरिसकेको छ।’ गठबन्धनकै सरकार बन्छ भन्ने शंकाको सुविधासहित मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने उनले बताए।