उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन्।
संयुक्त राष्ट्र संघ दिवसका अवसर नेपाली सेनाले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापी रूपमा नागरिकहरूको संवेदनशीलता बढेको बताएका हुन्।
उनले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे।
यहाँ आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघको वडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।
संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति मबाट सुरू हुन्छ’ भन्ने मूल नाराका साथ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र संघको वडापत्रको आदर्श र विश्व शान्तिको महान उद्देश्यप्रति नेपालको प्रतिबद्धता स्मरण गराए।
उपप्रधानमन्त्री खड्काले भने, ‘संयुक्त राष्ट्र संघको वडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ। नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ।’
निःशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूमा हाम्रा प्रतिबद्धताहरू अभिव्यक्त भएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा हामीले हाम्रा शान्ति सैनिकहरूलाई निरन्तर खटाएर योगदान गरिरहेको बताए।
संयुक्त राष्ट्र संघले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताउँदै उनले विश्व समुदायको एक सदस्यको हैसियतले नेपाल पनि यी प्रयासमा सक्दो योगदान गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति कार्यमा १० हजारसम्म तालिम प्राप्त शान्ति सैनिकलाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्दै उनले यसैबीच, संयुक्त राष्ट्र संघका महासचिवको लैंगिक समानता रणनीति अनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गर्न र सक्षम महिला शान्ति सैनिक पठाउन हरसम्भव प्रयास गरेको जानकारी गराए।