इजरायल-प्यालेस्टाइन युद्धबारे नेपालका सात पूर्वराजदूतहरूले चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्।
पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आइतबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
उनीहरूले इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू गम्भीर रूपमा चिन्तित भएको उल्लेख गरेका छन्।
'यस हिंसामा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गरेको नेपाली र अन्य धेरै मुलुक लगायतका निहत्था नागरिकमाथिको हमलाबाट १४०० जनाभन्दा बढीको हत्या, अरू हजारौंलाई घाइते बनाउने र कैयौंलाई बन्धक बनाउने काम भयो,' विज्ञप्तिमा भनिएको छ, 'हामी प्यालेस्टाइनी जनताको अधिकारका पक्षमा छौं तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्छौं।'
पूर्वराजदूतहरू द्वारा जारी विज्ञप्तिमा थप उल्लेख छ, 'हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरू गर्यो, त्यसबाट गाजापट्टीमा सर्वसाधारणका बस्तीमा बम र गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौं घाइते बनाउने काम भयो। पूरै गाजापट्टीलाई सैनिक नाकाबन्दी गरिएको छ भने विद्युत, खाद्यान्न, पिउने पानी, औषधिको आपूर्ति रोकिएको छ र आवासको हाहाकार छ। यति मात्रै होइन, यत्रतत्र नागरिक बस्तीमा बमगोला बर्साइएको छ र पूरै गाजापट्टीलाई खाली गर्न उर्दी जारी गरिएको छ।'
हिंसाका घटना जारी रहँदा यो क्षेत्रमा ठूलो मानवीय संकट पैदा भएको पनि उनीहरूले उल्लेख गरेका छन्। अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरूवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भर्त्सना गरे पनि नपुग्ने पूर्वराजदूतहरूले उल्लेख गरेका छन्।
'इजरायलको यो राज्य आतंक निन्दनीय छ। यस संकटपूर्ण घडीमा संयुक्त राष्ट्र संघले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै प्रश्न उठ्ने छ,' पूर्वराजदूतहरू द्वारा जारी विज्ञप्तिमा भनिएको छ।
युद्ध र हिंसाले कुनै समाधान दिँदैन भन्नेमा आफूहरूको दृढ विश्वास रहेको पनि उनीहरूले बताएका छन्।
त्यस्तै संयुक्त राष्ट्र संघको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टाइनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालीन समाधान हुन्छ भन्ने वास्तविकतामा पनि आफूहरूको दृढ विश्वास रहेको सात पूर्वराजदूतहरूले उल्लेख गरेका छन्।
'इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न तथा सम्पूर्ण मामिलाको शान्तिपूर्ण ढंगले समाधान खोज्न आह्वान गर्छौं। सर्वप्रथम युद्ध र हिंसा रोकिनुपर्छ। सम्झौताका निम्ति शान्तिपूर्ण वातावरण बनाइनुपर्छ र वार्ता र कुटनीतिलाई माध्यम बनाइनुपर्छ भन्ने हाम्रो मान्यता छ,' संयुक्त विज्ञप्तिमा उल्लेख छ, 'युद्ध र हिंसा भड्किँदा नेपालजस्तो शान्तिप्रिय मुलुक र असंलग्न राष्ट्रका नागरिक लगायत सम्पूर्ण विश्व नै यसको नकारात्मक असरको चपेटामा परेका छन्। इजरायल-प्यालेस्टाइनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या हो। यसको चिरस्थायी समाधानमा नेपाल सरकार लगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित हुँदैन। यसमा सकरात्मक हस्तक्षेप जरूरी छ। यो संकटपूर्ण घडीमा विशेष गरी सम्वद्ध अन्तर्राष्ट्रिय समुदायलाई चालु स्थितिमा आगोमा घिउ थपेर होइन, आफ्नो ठाउँबाट तत्काल युद्धविराम र गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउन सकारात्मक पहल गर्न आह्वान गर्छौं।'