नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना राजनीतिक दल र तिनको नेतृत्वप्रतिको वितृष्णाले नयाँ वैकिल्पिक शक्ति निर्माणको आधार तयार पारेको बताएका छन्।
‘यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ। असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ,’ उनले ट्विटरमार्फत् भनेका छन्।
उनले आइन्सटाइन र लग्जेम्बर्गको भनाइ अनुदित गर्दै भनेका छन्, ‘आइन्सटाइन भन्थे—जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिँदैन। त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्—कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ।’
नेपालमा २००७ सालतिर बिपी र पुष्पलालहरूले सुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ वर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुर्कंदै राजनीतिमा क्रियाशील पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पुर्याएको उनले बताएका छन्।
तर, त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भूराजनीतिक र भूआर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक–सामाजिक क्रान्तिको विचार/नीति/योजना/कार्यान्वयनमार्फत् रक्षा र विकास हुन नसकेको उनले बताएका छन्।
आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनुपर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या रहेको पनि बताएका छन्।
‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँशक्ति’ को आवस्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु बीचबीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर त्यो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकेन,’ उनले आत्मविवेचना गर्दै भनेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले केही समय यता विगतका गल्ती—कमजोरीलाई सच्याएर नयाँढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेको पनि बताएका छन्।
‘परन्तु माथि उद्धृत आइन्सटाइन र रोजाको कथनलाई आत्मसात गर्दै हामीले क्रान्ति वा परिवर्तनको प्रक्रियालाई पछि फर्काउने हैन अघि बढाउने प्रयत्न गर्नुपर्दछ भने विचारमा विकास नगरी पुरानै विचारमा टेकेर यी समस्या हल गर्न सकिन्न भन्ने पनि दरोसँग आत्मसात गर्नैपर्दछ। अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस्, पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टीकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिऊन्,’ उनले भनेका छन्।