राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले राष्ट्र प्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर पूर्जाअर्चना एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन्। उनीसँगै श्रीमती सविता पौडेल पनि सहभागी थिइन्।
भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपराह्न पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए। सो अवसरमा परम्परागत रूपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो।
राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन र दर्शन गर्नुको साथै पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे।
मल्लकालदेखि राजा महाराजाहरूले नवदुर्गाको पूजाआजा गर्दै आए पनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ। २०४५ को भूकम्पपछि तत्कालीन राष्ट्र प्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए।
यहाँ ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नव देवीको पूजा गरिन्छ।
सो अवसरमा राष्ट्रपति पौडेललाई मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजू मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए।