नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले उच्चस्तरीय राजनतीक भेटघाट सुरु गरेका छन्।
आइतबार विहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गरेका हुन्।
गुटेरसले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भेट गरेका छन्।
सिंहदरबारमा यी मन्त्रीसँग शिष्टाचार भेट भएको हो। महासचिव गुटेरसले एक जनालाई १५ मिनेटका दरले भेटेका थिए।
उनले आजै केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दै छन्।
आधा घन्टासम्म चल्ने उनीहरूबीचके भेटघाट भने नेपालमा लामो समयदेखि थाती रहेको संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा केन्द्रित हुनेछ।
शान्ति प्रक्रियाका कतिपय काम थाती रहेको अहिलेको अवस्थामा गुटेरसको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकारसम्मेलन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्री प्रचण्डले गुटेरसको सम्मान तथा स्वागतमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।