प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो भएको भेटवार्तामा उनीहरूले द्विपक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा कुराकानी गरेका छन्।
भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवसँग सौहार्दपूर्ण वातावरणमा विश्वासका साथ छलफल भएको बताए।
‘सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्यौं,’ प्रधानमन्त्री दाहालले भने, ‘मौसम परिवर्तनसम्बन्धी विषयमा गम्भीर चर्चा र नकरात्मक परिणाम कम गर्न महासचिवले खेलेको भूमिकाको प्रशंसा पनि गरिएको छ।’
उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा पनि कुरा भएको बताए।
‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालको आर्थिक विकास र समृद्धिलगायतका विषयमा पनि कुरा भएको छ।’
नेपालको राजनीतिक घटनाक्रमलगायत विषयबारे महासचिव जानकार रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
‘यो भ्रमणपछि राष्ट्र संघ र नेपालका बीचमा तथा अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने।
भिडिओ: