नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई जलवायु परिवर्तनका असरबारे विश्वमञ्चमा आवाज उठाइदिन आग्रह गरेका छन्।
आइतबार अपराह्न नयाँ बानेश्वरमा सभापति शेरबहादुर देउवासँगै महासचिव गुटरेससँग भेटवार्ता गर्दै कोइरालाले जलवायु परिवर्तनले नेपालमा पारेका नकरात्मक असरबारे विश्वमञ्चमा कुरा राखिदिन आग्रह गरेका हुन्।
‘तपाईं सगरमाथा क्षेत्र पनि जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनका असर नेपालले कति खेपिरहेको छ र हामीलाई कति अप्ठ्यारो छ भन्ने कुरा तपाईंले विश्वमञ्चमा आवाज उठाइदिनुहोला,’ कोइरालाले महासचिव गुटरेसलाई भनेका कुरा उद्धृत गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सेतोपाटीसँग भने, ‘यस विषयमा संवेदनशील भइदिनुहोला।’
महासचिव गुटरेस सोमबार नाम्चे, पोखरा र अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ।