नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शितल निवास पुगेर महासचिव गुटरेसले आइतबार अपराह्न राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नु परेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका थिए।
उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेका थिए।
‘जलवायु परिवर्तनको कारण हामी होइनौ, अरुले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौं, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरूलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘हामीले त व्यहोर्यौ व्यहोर्यौं अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौं। त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ।’
उनले सगरमाथा, अन्नपूर्ण आधार शिविरजस्ता ठाउँको महासचिवले भ्रमण गर्ने भएकोले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव पर्यो भन्ने कुरा महसुश गर्न पाउने पनि विश्वास गरेका थिए।
राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पूरा हुने बताए।
उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए।
राष्ट्रपति पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरेका थिए।
सो अवसरमा महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताए।
आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनिकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको उनको भनाइ थियो।
महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउदसँग पनि आइतबार शिष्टाचार भेटवार्ता गरेका थिए।