नेपाली कांग्रेसको पदाधिकारी बैठकमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाबारे छलफल भएको छ।
सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले अर्थतन्त्रका अवस्थाबारे जानकारी गराएका थिए।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पदाधिकारी बैठकमा मुलुकको अर्थतन्त्रका बारेमा पनि छलफल भयो।
‘मुलुकको अर्थतन्त्रका बारेमा जटिल परिस्थिति बन्दै गएको हुनाले सरकारले चाँडै नै राहत हुने किसिमको र लगानी नडुब्ने कुराको सुनिश्चितता हुने गरी नीति लिओस् भन्नेबारे छलफल भयो,’ विश्वकर्माले भने, ‘अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्रीज्यूले आजै बैठक पनि बोलाउनु भएको छ।’
कसरी अर्थतन्त्रलाई थप गतिशील बनाउने र सुधार ल्याउन सकिन्छ भन्नेबारे पदाधिकारी बैठकमा छलफल गरिएको उनले बताए। साथै अर्थमन्त्री महतले नेपालमा लगानी विस्तारै बढ्दै गइरहेको बताएका थिए।
अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाइ थियो।
अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतबीच सोमबार छलफल हुने पनि उनको भनाइ छ। विज्ञहरूका सुझावका आधारमा अघि बढ्ने पनि उनले बताए।