प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मंसिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन्।
कोप–२८ मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ।
उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।
प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२ औं संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’ मा पनि सहभागी हुने कार्यक्रम छ।
उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।
उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तर्क्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्। रासस