नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेश सांसद राजीव गुरूङ उर्फ ‘दीपक मनाङे’लाई मन्त्री बनाउन दवाब दिएका छन्।
पोखरामा शनिबार समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मनाङेलाई मन्त्री बनाउन भएको सहमति कार्यान्वयन गर्न मुख्यमन्त्रीले आलटाल गरेको आरोप लगाएका हुन्।
‘सातै प्रदेशमा हाम्रा एक जना भएपनि सदस्य हुनुहुन्छ, सबै प्रेदशको मन्त्रिमण्डलमा हाम्रो सहभागिता हुनुपर्छ भन्ने हाम्रो सहमति छ,’ उनले भने, ‘यहाँ मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनिसकें, आलटाल नगर्नुस्।’
मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सांसद जितेपछि मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए।
गण्डकीमा यसअघि एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका मनाङे अहिले कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी हुन चाहन्छन् ।
सातै प्रदेश सरकारमा नेकपा एकिकृत समाजवादी सहभागी भएको बताउँदै नेपालले गण्डकीमा गण्डकीमा भने मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको बताएका हुन्। उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फोन गरेर मनाङेलाई मन्त्री बनाउन आग्रह गर्ने समेत बताए।
प्रदेशको नीति तथा योजना आयोग र सरकारमा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउन भएको सहमति अनुसार योजना आयोगमा भने सदस्य दिएको उनले बताए । गण्डकी नीति तथा योजना आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीबाट अञ्चला चौधरी सदस्य नियुक्त भएकी छिन् ।
‘नीति योजना आयोगमा पनि हाम्रो सहभागिता हुनुपर्छ भन्ने सहमति छ, विभिन्न ठाउँमा सभापति पनि हामीलाई प्राप्त हुनुपर्छ,’ नेपालले भने, ‘गण्डकीमा एउटा सहमति कार्यान्वयन भयो, मन्त्रिमण्डलमा सहभागी गराउने कुरा कार्यान्वयन भएको छैन ।’
सांसद मनाङे नेकपा एकिकृत समाजवादी पार्टीमा प्रतिवद्ध भएकै कारण उनलाई मन्त्री बनाउनु आफ्नो जिम्मेवारी भएको नेपालले बताए।
‘उहाँ (मनाङे) पार्टीमा प्रतिवद्ध हुनुहुन्छ, पार्टीमा सामेल हुनुहुन्छ भने हाम्रो जिम्मेवारी हो पार्टीका तर्फबाट मन्त्री बनाउने,’ उनले भने।