नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसायमिक राजनीतिक प्रस्तावमाथि केन्द्रित रहेर महासमिति सदस्यहरूले धारणा राखेका छन्।
महासमितिमा महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले कोशी प्रकरणलगायत विषय राखेकोमा बोलेका अधिकांशले यसबारे चर्चा गरेका छन्।
साथै संघीयता बलियो बनाउनेदेखि किसानका कुरासम्म महासमिति बैठकमा उठेको छ।
सुर्खेतका पूर्णबहादुर रानाले एक व्यक्ति एक पद आवश्यक भएको बताए। उनले संघीयता कार्यान्वयनमा जोड दिए। हुम्लाका जयपति रोकायले समानुपातिकबाट अवसर पाएकाहरूलाई अन्य ठाउँमा पनि अवसर दिने काम नगर्न आग्रह गरेका छन्। कालिकोटका टेकराज शाहीले पार्टी संरचना र जनप्रतिनिधिको नियमन केन्द्रीय कार्यसमितिबाट हुनुपर्ने बताए।
सर्लाहीका सुवोध पोखरेलले संघीयता र संविधानको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताए।
‘संघीयताको बदनामा नेतृत्वबाट भएको छ, यसलाई सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ,’ उनले भने।
सिरहाका सञ्जिव उपाध्यायले अबको मुद्दा आर्थिक केन्द्रित हुनुपर्ने बताए। विकास निर्माणको दायरा फराकिलो बनाएर मधेसमा कांग्रेसले जनाताको साथ लिनुपर्ने उनको सुझाव छ।
‘अबको मुद्दा आर्थिक हो। विकास निर्माणमा फराकिलो दायराका साथ कांग्रेसले मधेसलाई हेर्नुपर्छ,’ उनले भने, ‘कांग्रेसका शुभचिन्तकले चुनावअघि गठबन्धन भएको राम्रो मानेका छैनन्।’
रौतहटका शेख वकिलले पार्टीका नेताहरू कुरा ठूला गर्ने तर मधेसको विकासका लागि केही नगर्ने भन्दै आपत्ति जनाएका छन्। ‘नेताहरू कुरा ठूला गर्नुहुन्छ। तर मधेस विकासको निम्ति केही बोल्दैनन्,' उनले भने। उनले मधेसमा पानीको स्रोत सुक्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराए।
'जल नभएर मधेस मरभूमि हुँदैछ। खानेपानीको हाहाकार छ। सरकारले मधेसलाई विशेष ध्यान दिनुपर्छ। हाम्रो पार्टी सरकारमा छ,' उनले भने।
रौतहटका देवप्रसाद तिमल्सिनाले जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताए। ‘सुकिला मुकिला कांग्रेस छन्। झुपडीमा बस्ने पनि मन्त्री हुन चाहन्छन्,’ उनले भने।
काभ्रेकी महासमिति सदस्य ललिता किरिङ मगरले ३३ प्रतिशत महिला सहभागिता तल झर्दै गएको र आदिवासी जनजातीलगायत सबै महिलालाई नीतिगत तहमा लैजानुपर्ने बताइन्। रामेछापकी गंगा अधिकारीले कांग्रेसलाई सुदृढीकरण गर्न जरूरी भएको भन्दै गुटले पार्टीलाई थिचेको बताइन्।
महासमिति सदस्य हरिप्रभा खड्गीले पार्टीले महिलाको इतिहासलाई बिर्सिन नहुने बताइन्। पदाधिकारीमा महिला अनिवार्य र भूगोलको रूपमा पनि महिलालाई प्रतिनिधिको रूपमा अगाडि बढाउनुपर्ने उनले बताइन्। अहिले सहमहामन्त्रीमा एक जना महिला रहने व्यवस्था छ।
महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले कांग्रेसले किसानलाई विशेष ध्यान दिनुपर्ने र किसान बलियो भयो भने कांग्रेस बलियो हुने बताए। महासमिति सदस्य गीता चौधरीले नेपालका भूगोल र मौसम राम्रो भएको हुनाले प्रत्येक दिन खेल खेलाउन सक्ने गरी खेल पर्यटन विकास गर्ने काम गर्नुपर्ने बताइन्।
मुस्ताङका रोमी गौचन थकालीले धर्मको राजनीति गर्न नहुने बताए। ललितपुरका केदारबहादुर लामाले कांग्रेस सबै धर्मका मान्छे अटाउने पार्टी भएको बताए।
मुगुकी विरु तिरुवाले कर्णालीको बाटो बनाउनुपर्ने र जनताको माग पनि सम्बोधन गर्नुपर्ने बताए।
महासमिति सदस्य तेजुलाल चौधरीले निजामती ऐन बनाउन नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराएका थिए।