नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराएका छन्।
कांग्रेस महासमिति बैठकमा पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय उठेको पनि उनले जानकारी गराए।
सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु राम्रो रहेको विषय उठेको जानकारी गराए।
‘यति धेरै चिन्ता र चासो आउनु मुलुक राजनीतिक अप्ठ्यारोमा रहेको छ। विपक्षीबारे घेराबन्दीमा परेको बेला यो आउनु राम्रो हो,’ उनले भने।
उनले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो? भने प्रश्न गरे।
‘देशको वस्तुस्थिति बुझेर बृहत् शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनीकरण भयो। जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो। कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्तावेजको रूपमा दिएका छौं। सदस्यको अभिव्यक्ति एक एक नीति र लक्ष्य बन्न सक्छ,’ उनले भने।
कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताए।
नीति प्रस्ताव समय सान्दर्भिक भएको र यसलाई इमानदारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको जानकारी गराए। उनले गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार हुने बताए।
‘गठबन्धनभित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो। यो तत्कालीन समयले माग गर्ने विषय हो। अहिले नै गर्ने/नगर्ने अलि हतार हो। तिनै प्रस्तावलाई चलयमान र गतिशील बनाउनुपर्छ,’ उनले भने।
वर्तमान गठबन्धन सर्वसम्मत रूपमा गरेकाले त्यसलाई निरन्तरता दिन इमानदारिता देखाउनुपर्नेमा उनले जोड दिए।
केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उनले बताए।
मधेस प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरूले निर्वाचनका क्रममा बढ्दो अन्तर्घात घटाउन सके पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त गरेको जानकारी गराए।
टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेका कारण अन्तर्घात बढेको उल्लेख गर्दै उनले भने, 'टिकट पाउने फिल्डमा खटिन्छ भने नपाउने हराउन लाग्छ।'
त्यसैगरी कांग्रेसमा युवापुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेस प्रदेशका महासमिति सदस्यहरू उठाएको उनले जानकारी गराए।
'महाधिवेशन र महाधिवेशनबीच दुई वर्ष फरक गर्नुपर्छ। यसो गर्दा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ,' उनले भने।
सभापति यादवले मधेसमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको पनि गुनासो आएको बताए।
बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्याहरूलाई समाधान गर्न पहल गर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने र शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्नुपर्ने लगायतका माग उठेको जानकारी गराए।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउनुपर्ने कुराहरू उठेको जानकारी गराए।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे जानकारी गराए।
'गैरआवासीय नेपालीहरूका लागि पनि आगामी निर्वाचनमा पनि मतदानको व्यवस्था गराउनु कुरा उठेको छ, यसलाई व्यवस्थित गर्न कांग्रेस पहल गर्नु सुझाव प्राप्त भएको छ,' उनले भने।