नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठकमा विवाद भएको छ।
नाउपाको केन्द्रीय समिति बैठक काठमाडौंको अनामनगरस्थित कार्यालयमा बसेको छ। उक्त बैठकमा संस्थापक केन्द्रीय सदस्य तथा टीकापुरका मेयर रामलाल डगौरा थारू र केन्द्रीय सदस्य रमेश विकमाथि धकेलाधकेल भएको हो।नाउपाका संरक्षक रेशम चौधरीनिकट व्यक्तिहरूबाट आफूहरूमाथि हातपातको प्रयास भएको उनीहरूले बताएका छन्।
हातपात प्रयास भएका दुवैजना संस्थापक अध्यक्ष रञ्जिता चौधरीनिकट हुन्।
‘पार्टीभित्र केही मतभेद छ, हाम्रो पहिलो महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएन। पुरानै कमिटीलाई ब्युँताइदियो,’ उनले भने, ‘हामीले महाधिवेशनबाट निर्वाचित कमिटीलाई वैधता दिन निर्वाचन आयोगलाई अपिल गर्ने निर्णय गरिसकेका छौं, यसैक्रममा विवाद भएको हो।’
उनले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भइसकेको बताए। ‘त्यसबारे पनि पार्टीको एक मतको धारणा आउँछ। हामीले नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरिसकेका छौं,’ उनले भने।
संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर कार्कीले सुदूरपश्चिम सरकारलाई समर्थन दिएकै विषयमा पार्टीभित्र एक मत कायम हुन नसक्दा विवाद सिर्जना भएको बताए।
‘नेताहरूको व्यक्तिगत झगडामा पर्दिन भनेर म काठमाडौं गइनँ। आज बैठक भनेर मलाई पनि पत्राचार भएको थियो,’ उनले भने, ‘यसरी पार्टी चल्दैन। पार्टी चलाउने विधि पनि यो होइन, नयाँ शिराबाट सोच्नुपर्छ।’
उनले आफू श्रीमान्–श्रीमतीको झगडामा पर्न नचाहेको बताए। संघमा नेकपा (एमाले), माओवादी केन्द्र सहितको गठबन्धनलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा छ।
त्यहाँका सातमध्ये पाँच जना सांसद मन्त्री छन्। एक जना नयाँ गठबन्धन बन्नुभन्दा अघि नै मन्त्री बनेका हुन् भने चारजना पछि थपिएका हुन्।
नाउपा संस्थापक अध्यक्ष चौधरीले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन त्यहाँको संसदीय दललाई निर्देशन दिइसकेकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले भने सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आएका छन्।