कर्णाली प्रदेश सरकारले चैते दसैंको दिन सार्वजनिक बिदा नदिने भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै मंगलबार अर्थात् चैते दसैंको दिन प्रदेशभर सार्वजनिक बिदा नरहेको जानकारी गराएको हो।
२०८० चैत २९ गते बसेको बैठकबाट उक्त दिन प्रदेशमा सार्वजनिक बिदा नदिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले जानकारी दिए।
कर्णाली प्रदेशमा लागु हुने गरी २०८० सालका बिदाहरू राजपत्रमा प्रकाशित गरिएको थियो। तर उक्त अवधिमा चैत दसैं नपरी २०८१ सालको वैशाखमा पर्न गएकाले बिदा नदिने निर्णय भएको सूचनामा उल्लेख छ।
‘चैत मसान्तसम्म एक वर्षका लागि प्रदेशमा लागु हुने विभिन्न सार्वजनिक बिदाका सम्बन्धमा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरिएको र सो अवधिमा चैत्र शुक्ल अष्टमी (चैते दसैं) को दिन समेत प्रदेशभर लागु हुनेगरि सार्वजनिक बिदा उल्लेख भएको, तर सो अवधिभित्र चैत्र शुक्ल अष्टमी नपरी २०८१ वैशाख ४ गते परेको देखिएकोले उक्त दिन प्रदेशभर सार्वजनिक बिदा नरहेको जानकारी गराइन्छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।