राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको म्याग्दे गाउँपालिका भवन उद्घाटन गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।
उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने बताए।
उनले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको बाधक भएको पनि बताए।
‘सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गरी व्यवस्था फेरिए पनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको छ,’ उनले भने।
कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै उनले बिस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरेका थिए।