जनमत पार्टीले नाराबाजी गरेपछि मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो।
तर बैठक सुरू भएलगतै जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले सरकारले राजविराजमा घटनामा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै विरोध जनाए।
सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यस कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि प्रहरीले लाठी चार्ज गरेको भएको थियो।
तेस्रो पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिएको दिन फागुन ६ गते त्यस घटनाबारे छानबिन गर्न समिति गठन गरिएको थियो।
तर समितीले काम नगरेको उनले आक्रोश पोखे।
त्यसका साथै अर्थ मन्त्रालयले कानूनविपरीत गत आर्थिक वर्षमा गरेको रकमान्तर प्रकरणबारे संसदीय छानबिन समितिले समेत प्रतिवेदन नबुझाएकाले प्रदेशसभा बैठक नै बस्न नदिने बताए।
‘असार २८ गते अर्थ मन्त्रालयले गरेको रकमान्तरबारे छानबिन गर्न समिती गठन भयो तर त्यसको प्रतिवेदन आएन। जबकि, चौथो पटक सरकारले विश्वको मत लिँदैछ। यस्तो अवस्थामा सरकार कति गम्भीर छ भन्ने बुझिन्छ। सरकारको अवस्था ठीक छैन। पहिले यो कुराको जवाफ चाहियो, त्यसपछि सदन संचालन होस,’ सिंहले भने।
त्यसलगतै जनमत पार्टीका सांसदहरू उभिएर विरोध जनाए।
त्यही बेला नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर उठेर सिंहको प्रतिवाद गर्न थाले।
‘महेश यादवमाथि भएको व्यक्तिगत कुटाकुटको मलाई दुःख छ। तर त्यो व्यक्तिगत कुराले सदन अवरोध गर्न मिल्दैन,’ ठाकुरले भने।
त्यसपछि जनमतका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे।
जनमतले विरोध जनाइरहँदा कांग्रेसका सांसदहरूले समेत उठेर नाराबाजीको समर्थन जनाएका थिए।