नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट विभूषित गर्ने भएको छ।
एमालेले नेकपा स्थापनाको ७५ औं वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार ललितपुरको गोदावरीमा हीरक महोत्वस आयोजना गर्दैछ। सोही अवसरमा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त पदकबाट सम्मान गर्न लागेको हो।
आइतबार सकिएको महाधिवेशन राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट विभूषित गर्ने प्रस्ताव गरिएको थियो।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा सदस्यहरूले सहमति जनाएका हुन्।
‘हामीले महत्त्वपूर्ण ढंगले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका व्यक्तिलाई सम्मान हाम्रो घोषित योजना थियो,' उनले भनेका थिए, 'त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई-दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्त्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँछु।’
नेकपा स्थापना दिवसको सन्दर्भमा एमालेका पूर्वप्रधानमन्त्रीहरूलाई पनि वक्ताको रूपमा निम्त्याएको छ।