कर्णाली प्रदेश सभाको बैठक सोमबार सम्मका लागि स्थगित भएको छ।
आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेपछि पूरा चल्न सकेको थिएन।
नेपाली कांग्रेसको निरन्तर अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए।
स्थगन पछिको छलफलमा दलहरूबीच कुरा नमिलेपछि सूचना टाँसेर सोमबार सम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रि–बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको आइतबारको बैठकमा नेपाली कांग्रेसले १० लाख मुनिका योजना कार्यान्वयनमा भएको र यसअघिको दलहरूबीचको सहमति कार्यान्वयनमा भद्रगोल भएको भन्दै अवरोध गरेको थियो।
नेपाली कांग्रेसले चालु आर्थिक वर्षको बजेटमा परेको १० लाख भन्दा मुनिका योजनाहरू कार्यान्वयनको विषयमा यकिन सहमति नभएसम्म संसद चल्न नदिने बताएको छ।