कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धानमा शीघ्रता अपनाउन अदालतले आदेश दिएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई सोमबार थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।
सिरोहिया बिरामी भएको र काव्या अस्पतालको रिपोर्टअनुसार उनको स्वास्थ्य अवस्थाका कारण अनुसन्धानमा शीघ्रता अपनाउन भनिएको हो।
‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’ आदेशमा भनिएको छ।
सिरोहियामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद माग भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सोमबार अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ।
उक्त विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष माग गरेको थियो।
ती आधार कारणहरूलाई हेरेर इजलासले सिरोहियालाई सोमबारदेखि बुधबारसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।
पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति धनुषा पुर्याएको थियो।
सुरूमा अदालत पेश गरिएका उनलाई अदालतले अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको थियो।
उक्त म्याद सकेर दोस्रो पटक जेठ ११ गते (शुक्रबार) अदालतमा पेश गरिएको थियो। त्यस दिन अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई जनकपुर प्रादेशिक अस्पताल लगेको थियो। त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो।
![kailashsirohiya-1716872244.jpg](https://www.setopati.com/uploads/posts/kailashsirohiya-1716872244.jpg)