रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराई-मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन्।
शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले आफ्नो व्यक्तिगत कुण्ठा, आकंक्षाहरू नपुगेका कारण विभिन्न किसिमका हल्लाह फिँजाइएको बताए।
उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत भनेर राष्ट्रिय गौरवका योजनाहरूका बारेमा अवगत गराउनसके थोरै वर्षहरूमा मुलुकलाई समृद्ध बनाउन सकिने बताए।
²हाम्रो देश विभिन्न किसिमका विपदहरू आइलागेका कारण पनि समस्या छ। हामी केही ढिला भएको होला तर विशेष व्यवस्थापन भएको छ। अब द्रुत गतिमा अघि बढेको छ,’ उनले भने, ‘यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ। मेरो संसदीयकालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
उनले काठमाडौं–तराई-मधेस द्रुतमार्ग नेपाली सेनाको कारणले नभई राज्यको तर्फबाट नै आवश्यक ऐन, कानून, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको बताए।
‘फास्ट ट्र्याक भनेको मेरो घर जाने बाटो हो। त्यो बाटो विभिन्न कुराहरू राज्यले नै एक किसिमको ऐनहरू दिन नसकेको कारण कानूनहरू, ऐनहरू, नियमहरू, नियमन गर्न नसकेको कारण अल्झिएको छ,’ उनले भने, ‘स्थानीय तहमा नदीजन्य पदार्थका ऐनहरू, क्रसरका समस्याहरूको समाधान दिन नसकेको कारण हो।’