जनता समाजवादी पार्टी नेपालले आगामी वैशाखभित्र सबै प्रदेश र राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन गर्ने निर्णय गरेको हो।
तोकिएको समयभित्र अधिवेशन सम्पन्न नगर्ने भ्रातृ संस्थाहरू स्वत विघटन हुने निर्णय पनि बैठकले गरेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।
बैठकले महाधिवेशनपछि थप भएका क्रियाशिल सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने निर्णय पनि गरेको छ।
जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
पार्टीको जारी 'जनतासँग जसपा नेपाल' अभियान आगामी माघ मसान्तसम्म जारी राख्ने पनि निर्णय भएको छ।
बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहेपनि यो पर्याप्त नरहेकोले संगठन निर्माण एवं बिस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।
आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिय कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।