परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको सहयोग लोकतान्त्रिक प्रणाली (डेमोक्रेटिक सिस्टम) लाई नै भएको बताएकी छन्।
भारतमा आयोजित विभिन्न कार्यक्रममा भाग लिएर शुक्रबार स्वदेश फर्केकी परराष्ट्र मन्त्री राणाले राजनीतिक विषयमा खासै छलफल नभएको पनि बताइन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कुनै एजेन्डासमेत नराखिएको उल्लेख गर्दै उनले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भने भेटवार्ता भएको बताइन्।
‘कार्यक्रममा कुनै देशको परराष्ट्र मन्त्रीलाई मात्र भेट्न त्यहाँ गाह्रो थियो, भारतीय प्रधानमन्त्रीलाई भेट्ने हामीले एजेन्डा पनि राखेका थिएनौं,’ उनले भनिन्, ‘आफ्नो समकक्षी भएर विदेश मन्त्रीसँग भेट मागेका थियौं, भेटवार्ता भयो, राम्रो स्वागत गर्नुभयो।’
उनले राजनीतिक घटनाक्रमबारे खासै कुराकानी नभए पनि भारतको सहयोग लोकतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिएको बताइन्।
‘यहाँको राजनीतिक गतिविधिबारे खासै हामीले कुरा गरेनौं तर उहाँहरूको सहयोग डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरूरी छ,’ उनले भनिन्, ‘अहिलेको सरकारसँग मिलेर काम गरिरहनुभएको छ। खुलेरै भन्नुपर्दा- सरकार नै परिवर्तन गर्ने आशय मैले देख्न चाहिँ देखिनँ है।’
परराष्ट्र मन्त्री राणालाई नेपालमा राजावादीहरूले विभिन्न गतिविधि गरिरहेकोबारे पत्रकारले प्रश्न सोधेका थिए। त्यसको जबाफमा उनले भारतको सहयोग लोकतान्त्रिक प्रणालीमै भएको बुझिएको बताएकी हुन्।