राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो सवा १२ बजेदेखि बैठक सुरू हुने संघीय संसद सचिवालयले जनाएको छ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि छलफल हुने छ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण बिधेयक र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।