सरकारको नीति तथा कार्यक्रम आउनुअघि सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ।
बालुवाटारमा बुधबार मध्याह्न सत्ता गठबन्धन दलहरूको बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफलकेन्द्रित थियो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्री ओलीले सत्तापक्षीय दलहरूका नेताहरूबाट सुझाव माग गरेका थिए।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझावहरू दिइएको बताए।
‘सत्ता पक्षीय दलका नेताहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्य-मुख्य विषयमा सुझाव दिनुभयो। लोकतन्त्रलाई थप सुदृढ गर्ने र लोकतन्त्रमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपले जबाफ दिने खालका कार्यक्रम आउनुपर्छ भन्ने सुझाव रह्यो,’ उनले भने।
उनले विकास निर्माणलाई प्रभावकारी बनाउनुपर्ने र आयोजनाहरूलाई उच्च प्राथमिकतामा राख्न पनि सुझाव आएको छ।
साथै युवा पुस्तामा आशा र विश्वास जगाउने खालका उद्यमशीलता, सीप विकासलगायतका कार्यक्रम ल्याउन पनि सुझाव आएको छ।
अर्थतन्त्र लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउने तथा फजुल खर्च कटौती गर्ने विषयमा पनि सुझाव आएका छन्।
गठबन्धन बैठकमा आन्दोलनरत नेपाल शिक्षक महासंघसँग वार्ता सकारात्मक भइरहेको ब्रिफिङ भएको थियो।
एमाले उपमहासचिव ज्ञवालीले पनि शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको र छिट्टै सहमतिमा पुगिने बताए।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए।