सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन्।
उहाँले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताए।
उनले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन शुरु हुने विश्वास लिएको बताए।
'सरकारले खेलाँची गरेको होइन। शुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो। विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन। निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गर्नुभएको थियो। शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ भनेर अडान लिएपछि केही ढिलाइ भएको हो,' उनले भने।
उनले बिहीवारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र सहज रूपमा पठनपाठनको सुचारु हुने आशा व्यक्त गरे।