राष्ट्रिय मुक्ति पार्टीले झूटो आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने ठाउँमा आइपुगेको बताएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्यसत्ता परिवर्तनमा मजदुरहरूको निर्णायक भूमिका रहे पनि पटकपटक झूटा आश्वासनमा ठगिएको बताएको हो।
‘राणा कालदेखि पञ्चायत विरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलन मार्फत् लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्नमा श्रमिक वर्गको सक्रिय भूमिका रहेको थियो। तर ती जनयुद्ध र आन्दोलनहरूपश्चात् हरेक पटक श्रमिकहरू झुटा आश्वासनहरूमा ठगिएका छन्,’ उनले भने।
नेपालका स्वदेशी राष्ट्रहरूको दृष्टिकोणबाट श्रमिक आन्दोलनलाई हेर्दा यसको आयाम अझ फराकिलो देखिने राष्ट्रिय मुक्ति पार्टीले जानकारी दिएको छ।
‘श्रमिक वर्ग अधिकांश स्वदेशी राष्ट्रका जनताहरू हुने र उनीहरूलाई उपनिवेशकारी राज्य व्यवस्थाका सीमित राज्यधारी सभ्रान्तहरूले श्रमको शोषण गर्ने मात्र हैन। उनीहरूको प्राकृतिक स्रोतहरू दोहन गर्ने, उनीहरूलाई पैतृक भूमिबाट विस्थापन गर्ने, उनीहरूको परम्परागत आस्थाका केन्द्रहरूलाई भत्काउने, उनीहरूमाथि सांस्कृतिक औपनिवेशिकता थोपर्ने आदि काम भइ रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
बदलिँदो परिवेशमा श्रमिकहरू विगतको जस्तो आर्थिक रूपमा मात्र हैन, सामाजिक साँस्कृतिक र राजनीतिक रूपमा पनि शोषणको दुष्चक्रमा फसेको पार्टीको धारणा छ।
‘अब सम्पूर्ण स्वदेशी मजदुरहरू पुनः एक पटक राष्ट्रिय मुक्ति क्रान्ति मार्फत् विगतमा झूटा आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध एकजुट भएर संघर्ष गर्नु पर्ने विन्दुमा आइ पुगेका छौं,’ विज्ञप्तिमा उल्लेख छ।