नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ जना नेताहरूलाई ४८ घन्टे स्पष्टीकरण सोधेको छ।
रत्नलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ अनुशासन समिति संयोजक परोपकार अधिकारीले २ जना केन्द्रीय सदस्यसहित ६ जना नेतालाई स्पष्टीकरण सोधेका हुन्।
वैशाख १७ गते रत्नलक्ष्मी क्याम्पसमा सहमतिमा स्ववियु निर्वाचन भएको विषय आएको थियो।
स्ववियु निर्वाचन समितिले गरेको 'अवैध' निर्वाचन प्रक्रियामा प्रत्यक्ष/परोक्ष रूपमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको अनुशासन समितिले जनाएको छ।
स्पष्टीकरण सोधिएकामध्ये एक केन्द्रीय सदस्य अनुराग शाहले नेविसंघ केन्द्रीय समितिको कार्यकाल चैत ३१ गते नै सकिएको र वैधानिकता समाप्त भइसकेको समितिले स्पष्टीकरण सोध्न नसक्ने उल्लेख गरेका छन्।
‘कार्यकाल समाप्त भएपछि म्याद नथपिएको अवस्थामा कुनै पनि समितिको वैधानिक अस्तित्व रहँदैन भन्ने प्रष्ट बुझिनुपर्छ। कार्यकाल सकिएको समितिले कुनै पनि इकाइ गठन वा विघटन गर्ने अधिकार राख्न सक्दैन। म्याद सकिएको संगठनको कुनै पनि समिति/उपसमितिको औचित्य कति रहन्छ आफै बुझ्नुस्। संगठनको लेटर प्याड र छाप दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्न खोज्दा उल्टै विभिन्न किसिमका कारवाही भोग्न पर्ला है,’ उनले भनेका छन्।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघका नेताहरूमाथि पूर्वाग्रह राखेर स्पष्टीकरण सोधिएको भन्दै विरोध गरेका छन्।
‘मातृ पार्टीले नेविसंघको अधिवेशन गर्न दिएको जिम्मेवारीबाट विमुख भएर म्याद समाप्त भइसकेका अध्यक्षको निर्देशनमा नेविसंघका नेताहरुमाथि पूर्वाग्रह राखी स्पष्टीकरण सोध्नु हाँस्यास्पद र नाजायज छ। यसको घोर निन्दा गर्दै साथीहरूलाई रत्तिभर पनि बिचलत नभई डटेर सामना गर्न अनुरोध गर्दछु,’ उनले भनेका छन्।
