उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन्।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका हुन्।
'यसमा थोर बहुत कमी, कमजोरी भएको होला, त्यसलाई अब सुधार्नको लागि मिलाएर संविधान सभाबाट जारी भएको संविधानको भावना र मर्मअनुरुप हामी सबैले हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना छ,' उनले भने।
उनले त्यसलाई पूरा गर्न राजनीतिक स्थिरता बिना नहुने भएकाले राजनीतिक स्थायित्व र स्थिरता दिन कांग्रेस, एमाले लगायत अरु दलहरु मिलेर सरकार बनेको बताए।
'जादुको छडी कोहीसँग छैन । हामी प्रतिकूल अवस्थाबाट अनुकूलतामा लैजानका लागि कोभिड १९ पछि अर्थतन्त्रमा आएको अफ्ठ्यारोपन जुन छ, त्यसलाई हटाउनको लागि अहिले यो सरकारले बढो जिम्मेवारपूर्ण तवरले लहलहैमा होइन, पपुलिस्टका कार्यक्रमहरु दिएर होइन, देशलाई सम्हाल्नुपरेको छ, यो व्यवस्थालाई टिकाउनुपरेको छ,' उनले भने।
राष्ट्रपतिबाट जारी भएको नीति तथा कार्यक्रमले पनि सरकार देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुन परिस्थितिलाई सम्हाल्न जिम्मेवारवोध देखिएको बताए।
उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको बताए।
अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने उनले बताए।