प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले नीति तथा कार्यक्रम राम्रै भएपनि समर्थन नगर्ने बताएका छन्।
शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाको एमाले संसदीय दलको बैठकमा बोल्दै सरकारले ल्याएका नीति तथा कार्यक्रम राम्रा र सही भएको बताएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
‘माननीय सदस्य ज्यूहरूलाई के आग्रह गर्न चाहान्छु भने हाम्रा नीतिहरू सही छन्, सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुभए हुन्छ,’ उनले भने।
विपक्षी दलहरूले जस्तो सुकै राम्रो नीति बनाएको भएपनि विरोध गर्नु र समर्थन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनले बताए। त्यसैले विपक्षीहरूको भनाइमा घोत्लिनुपर्ने अवस्था नरहेको उनले बताए।
‘विपक्षी भएपछि जे भएपनि विरोध गर्नुपर्छ भन्ने लाग्छ। कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गर्ने छैन। केही पनि समर्थन गर्दैन। किनभने विपक्ष हो। त्यसकारण विपक्षले भनेका कुरामा कुनै सत्यता छ कि भनेर धेरै घोत्लिनुपर्ने अवस्था पनि हुँदैन किनभने सत्य भएपनि विरोध गर्ने असत्य भएपनि विरोध गर्ने हो,’ उनले भने, ‘असत्य हामीले लेखेकै छैनौं। जति विरोध गर्ने हो सत्यकै विरोध गर्ने हो। सही कुराको विरोध गर्न बाध्य छन्।’