राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा एक महिनादेखि पार्टीले स्वीकृत गरेको छैन।
श्रेष्ठले आफू संसदीय भूमिकामा मात्रै सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन्।
उनले पार्टीमा ‘एक व्यक्ति एक पद लागू हुनुपर्ने तथा एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन’ भन्दै राजीनामा दिएकी थिइन्।
साथै उनले पार्टीमाथि जनताको ठूलो आश, डेलिभरी दिने क्षमता शून्य’, धेरै कर्मकाण्डी प्रक्रिया’, पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण’ लगायत धारणा–असुन्तुष्टि पनि राजीनामा पत्रमा समावेश गरेकी थिइन्।
उनले पार्टी सभापति रवि लामिछानेलाई नै सम्बोधन गरेर राजीनामा दिएकी थिइन्। तर चैत २२ गते सभापति लामिछाने पक्राउ परेर थुनामा पठाइएपछि उनले त्यसबेलै राजीनामा 'होल्ड' गर्न भनेकी थिइन्।
तर राजीनाको विषय बाहिरिएपछि श्रेष्ठले वैशाख ४ गते केन्द्रीय समितिमै राजीनामा पेस गरेकी थिइन्।
उनको राजीनामाबारे निर्णय लिन पार्टीले कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) र उपसभापति स्वर्णिम वाग्लेलाई जिम्मा दिइएको थियो।
कार्यवाहक सभापति अर्याल र उपसभापति वाग्लले राजीनामाबारे सुमना श्रेष्ठसँगै कुरा गर्ने बताएका थिए। श्रेष्ठको राजीनामाबारे पार्टी कुनै निचोडमा पुगिनसकेको कार्यवाहक प्रवक्ता झाले बताए।
‘उहाँको राजीनामाबारे त्यतिधेरै छलफल भएको मलाई थाहा छैन। उहाँको राजीनामाबारे निर्णय लिन सचिवालय बैठकले कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई जिम्मा दिएको हो। उहाँहरूले छलफल गर्नुभयो कि भएन, सचिवालय बैठक नबसेकाले थाहा भएन,’ झाले सेतोपाटीसँग भने।
उपसभापति अर्याल र सांसद डा. तोसिमा कार्की कार्यक्रमको सिलसिलामा भारतमा छन्। उनीहरू स्वदेश फर्केपछि मात्रै यसबारे निष्कर्षमा पुग्ने सम्भावना रहेको रास्वपाले बताएको छ।
श्रेष्ठ निकटले भने यसबीचमा पार्टीका कार्यवाहक उपसभापति अर्यालले राजीनामा फिर्ता गर्न आग्रह गरेको बताए।
उपसभापति अर्यालले संसद् भवनमा भेटेका बेला राजीनामा फिर्ना लिन आग्रह गरेको उनको भनाइ छ।
भेटमा उपसभापति अर्याललाई उनले सहमहामन्त्रीबाट दिएको राजीनामा फिर्ता नलिने अडान दोहोर्याएकी थिइन्।
साथै उनले आफूले होल्ड गर्न भनेको राजीनामा पार्टीबाटै मिडियामा पुर्याइसकिएको र सबैतिर राजीनामाको हल्ला भइसकेकाले फिर्ता लिनु उचित नहुने पनि बताएकी थिइन्।
‘सांसद सुमना श्रेष्ठलाई भेटेका बेला कार्यवाहक उपसभापति डोलप्रसाद अर्यालले राजीनामा फिर्ता लिँदा राम्रो हुने बताउनुभएको रहेछ। सांसद श्रेष्ठले पार्टीकै साथीहरूले मिडियामा पुर्याइदिएकाले आफू उक्त भूमिकामा फर्कन नचाहेको र सांसदकै भूमिकामा बढी क्रियाशील हुने बताउनुभएको छ,’ श्रेष्ठनिकटले भने।
कार्यवाहक सभापति अर्यालसँगको भेटमा श्रेष्ठले राजीनामा स्वीकृत गरिदिन आग्रहसमेत गरेकी थिइन्। अर्यालले ‘प्रक्रियामा होला’ भनेर जबाफ दिएको श्रेष्ठ निकटले बताए।
श्रेष्ठ कसरी सहमहामन्त्री नियुक्त भएकी थिइन् र पछि किन बुझाइन् राजीनामा?
२०८० मंसिर ११, १२ १३ गते महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित केन्द्रीय समितिको बैठक बसेको थियो।
त्यही बैठकले सबै सांसदहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्यो। साथै पदाधिकारी संख्या पनि थप गरेर १२ सदस्यीय बनायो।
त्यसअघि रास्वपाको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री मात्रै रहने व्यवस्था थियो।
दुई उपसभापति तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र तीन सहप्रवक्ता त्यही बैठकले तोकेको हो। पछि कार्यविभाजन पनि गरियो।
त्यो बेला श्रेष्ठले पार्टी सभापति लामिछानेलाई पत्र नै बुझाएर सहमहामन्त्री दाबी गरेकी थिइन्।
‘पार्टीको लाइन सदनमा स्थापित गर्छु भनेर जलेश्वरको बैठकबाट म सहमहामन्त्री पोजिसनका लागि काबिल छु भनेर पत्र दिएकै हुँ,’ श्रेष्ठले गत वैशाख ४ गतेको बैठकपछि सञ्चारकर्मीसँग भनेकी थिइन्।
तर सहमहामन्त्री पदलाई न्याय हुने गरी आफूले कार्यसम्पादन गर्न नकेको श्रेष्ठको स्वीकारोक्ति छ। त्यो कुरा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएको बेला महसुस भएको पनि उनले बताएकी छन्।
‘मन्त्रालय सम्हाल्दै गर्दा सहमहामन्त्रीको पोजिसनमा मैले केही गर्न सकिनँ नि। त्यो त मैले अनुभव गरेँ नि। त्यसमा मेरो क्लियर स्वीकारोक्ति छ। एक व्यक्तिले धेरै पदहरू लिइराख्दा खेरी मैले काम गर्न सकिनँ, सहमहामन्त्रीका रूपमा। त्यो स्वीकोरोक्तिका साथ मैले भनिरहेको छु,’ उनले बताएकी छन्।
यो दुई हप्ता अगाडिको निष्कर्ष भएको श्रेष्ठले बताइन्।
त्यतिबेला पार्टी सभापति लामिछानेले पार्टी पुनर्निर्माण गरौं, जसजसले आफूले पाएको पदीय जिम्मेवारी पूरा गर्न सकिराख्नु भएको छैन, उहाँहरूले सोच्नुहोला भनेपछि त्यो समय राजीनामा दिनु उपयुक्त लागेको उनको भनाइ छ।