निर्वाचनको कार्यादेश पाएर गठन भएको वर्तमान सरकार निर्वाचनका लागि प्रतिबद्धताका साथ लागेको छ। चुनाव प्रजातन्त्रको सुन्दर रूप हो। पछिल्लो समय जेनजी लगायतले अगाडि सारेका माग पूरा गर्नका लागि चुनाव सबैभन्दा लोकतान्त्रिक बाटो हो। यो कानूनी रूपमा वैद्य बाटो पनि हो। जेनजी लगायतका युवाको सहादतपछि प्राप्ति उपलब्धिलाई संस्थागत गर्न र मुलुकलाई अग्रगमनको नयाँ दिशामा अग्रसर बनाउनका लागि पनि निर्वाचन अपरिहार्य छ।
निर्वाचनमार्फत दुई तिहाइभन्दा बढी युवालाई जिताएर सांसद बनाउनुपर्ने छ। त्यसपछि मात्रै जेनजीले अघि सारेका संविधान संशोधन लगायतका माग पूरा गर्न सकिन्छ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री बनाउने, केन्द्र र स्थानीय तहलाई बलियो बनाउने, समानुपातिक निर्वाचन प्रणाली लगायतका विषयमा निर्णय गर्नुपर्नेछ। नेपालको प्रशासनिक संरचना र कार्यपद्धतिमा आमूल परिवर्तन ल्याउनुपर्नेछ। त्यसैले युवाका काँधमा निकै ठूलो जिम्मेवारी पनि थपिएको छ।
तर अहिलेसम्म जेनजीहरूले आफ्नो नेतृत्व छनोट नगरेको अवस्था छ। आफ्ना माग पूरा गर्नका लागि बलियो नेतृत्व आवश्यक पर्छ। पुराना नेताले मुलुक बिगारे भन्दै सराप्ने जेनजीले मुलुक निर्माणका लागि सही नेतृत्व छनोट गर्नु आवश्यक छ। त्यसका लागि जेनजीले उम्मेदवार छनोट गर्दा सूचना प्रविधि बुझेको हुनुपर्छ। विश्व जगतबारे जानकार हुनुपर्छ। आजको आधुनिक सूचना प्रविधिमध्ये अमूक प्रविधिको सदुपयोग कृषि, वातावरण, उद्योग, पर्यटन, खेलकुद, नवप्रवर्तन लगायतका क्षेत्रको विकास गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुपर्छ।
शैक्षिक योग्यता कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुँदा राम्रो हुन्छ। यसमा कोही औपचारिक शिक्षा बिना पनि ज्ञान हासिल गरेर शिक्षित बनेका हुन्छन्। त्यस्ता केहीलाई अपवादको रूपमा लिन भने सकिन्छ। सांसद भनेको खास गरी नीति, कानून, नियम, विनियम तर्जुमा गर्ने, देशमा भएका क्रियाकलापहरूलाई गहिरो दृष्टिले हेर्ने र अनुपयुक्त भए गरेको भए सच्चाउन पहल गर्ने समूह भएकाले बिना ज्ञान, बिना शिक्षाका व्यक्तिलाई उम्मेदवार चयन गर्नु उपयुक्त हुँदैन। देश बुझेको, देश चिनेको शिक्षित व्यक्ति मात्र उम्मेदवार बन्नुपर्छ।
व्यक्तिभन्दा परिवार ठूलो, परिवारभन्दा समुदाय ठूलो, समुदायभन्दा देश ठूलो हो। यो सत्यतालाई अङ्गिकार गर्नु पर्यो। तसर्थ दल, समूह, वर्ग, आदि संकीर्णताबाट माथि उठेको व्यक्तिलाई उम्मेदबार बनाउने हो। उसले मेरो परिवार, मेरो गाउँ वा जिल्ला अथवा चुनाव क्षेत्र भन्न थाल्यो भने त हालको दलीय स्वार्थभन्दा माथि उठ्नै सक्दैन। अतः मेरा लागि देश सर्वोपरि हो भन्ने भावना बोकेको व्यक्तिमात्र संसदको उम्मेदवार बन्ने योग्य हैसियतको हुन्छ। त्यस्ता व्यक्तिलाई त समुदायबाट खोजेर, तिनलाई उम्मेदवार हुन अनुरोध गर्ने हो, तिनलाई उठाउने हो।
देश दोहन भयो। पदमा रहेका व्यक्तिले जनताले तिरेका कर बापत उठाइएको न्यून राज्य कोषबाट विभिन्न नाम र परिस्थिति सृजना गरेर सरसुविधा लिँदै जाने, थप्दै जाने गर्दा विकास क्षेत्रमा बजेट नहुने र केबल तलब आदि सञ्चालन खर्चमात्र धानिने अवस्थाबाट देशलाई निकास दिन परेको छ।
यस परिप्रेक्ष्यमा संसदमा जाने, मन्त्रिमण्डलमा रहने, अन्य विशिष्ट पदमा आसिन हुने व्यक्तिहरूले अब आइन्दा स्वयं सेवा गर्छु भन्ने दृढता व्यक्त गर्नु पर्यो। निजले स्वयं सेवा गर्छु भने पछि पनि निजको हात मुख जोर्ने पेसा के छ, गाउँ सहरमा व्यक्तिको अन्य आम्दानीको स्रोत के कस्ता छन्? कसरी निजको परिवार चल्छ? सोको यकिन गरेर निजलाई उम्मेदवार बनाउँदा राज्यकोषको बचत हुन्छ भन्ने पक्कापक्की भएपछि मात्र जेनजी वा नवजमातले त्यस्ता व्यक्तिलाई उम्मेदवार चयन गर्ने हो।
मुलुकमा सडक संयन्त्र, आवास क्षेत्र, योजनाविहीनको खेतीपाती प्रणाली, अव्यावहारिक नियम कानून लामो समयदेखि चलिआएको कागजी टिप्पणी प्रथा आदिले हामीलाई प्रष्टै पारेको छ।
हजारौं मध्येको एउटा सानो उदाहरणः संस्था कर छुट पाउने हैसियतको छ, आय कर छुट पाउने संस्थाको प्रमाणपत्र भनेर आन्तरिक राजस्व कार्यालयले प्रमाण दिएको छ, तै पनि सोही कार्यालयको कर चुक्ता अर्को प्रमाण पत्र खोजिन्छ। यो जस्तो जनतालाई चक्करमा घुमाउने कुनै अर्को देश होला? तसर्थ अबदेखि आधुनिक र वैज्ञानिक तौरतरिका अवलम्बन गर्न ढिला गर्नु हुँदैन।
पदका लागि वा अन्य लाभको लागि लोभ, मोह, कुनै न कुनै प्रकारले केही प्राप्त गर्न खोज्ने मनस्थितिको व्यक्ति छ भन्ने लागेमा त्यस्तालाई कुनै पनि हालतमा उम्मेदवार तोक्नुभएन। अबको पाँच वर्ष नेपालको लागि विकासको जग बसाउने समय हो।
तसर्थ अलिकता पनि शंका रहेका व्यक्ति कोही पनि संसदमा नपुगून् भन्ने गहिरो सोच उम्मेदवार चयन गर्ने समूहमा हुनु जरूरी छ।
सबभन्दा ठूलो कुरा जेनजी वा नवयुवा समूहले यो वा ऊ दल भनेर धेरै दलहरू खोल्ने नै हैन। मैले अगाडि कतै लेखेको पनि थिएँ- दुई वा तीन दलभन्दा धेरै दल खुल्ने, थोरै मत प्राप्त भए पनि राष्ट्रिय दल बन्ने भनेकै अहिलेको जस्तो मिसिएर खिचडी बन्ने हो। तसर्थ, सचेत हुनुहोस्। तपाईंहरूलाई हाल विद्यमान कुनै दल नवीन सोच र विकासको गति लिन सक्छ भन्ने लाग्छ भने, त्यही दलमा मिसिनुस् वा हामी आगामी चुनावमा अमूक दललाई सघाउँछौं भन्नुहोस्। अन्यथा फेरि पछुताउनु बाहेक केही रहने छैन। दल धेरै भएर देश विकास हुने हैन रहेछ। बलियो समूह एकजुट भएमा पाँच वर्षमा देशको रेखा कोर्ने काम अवश्य पूरा हुन्छ। गहिरो चेतनशील बन्नुहोस्।
जेनजी वा नवयुवाहरू तपाईंलाई विभाजित हुन, टुटफुट हुन, थाक्न, संकिर्ण घेरामा लाग्न, निर्णय गर्न लामो समय लिन, अलमलमा पर्न, सरकारसँग यो भएन, ऊ भएन भनेर पैंठेजोरी खेल्न, ... समय पटक्कै छैन। होसियारीपूर्वक तत्काल अगाडि बढ्नुहोस्, पछाडि फर्कने सुविधा पनि छैन।
यो आलेख त्यसै मनगढन्ते कुराहरू पोख्न मात्र लेखिएको हैन। विगत केही सातादेखि पूर्वप्रशासक, देश चिन्तक, योजनाविद्, प्रौढताले परिपक्क भएका विभिन्न महानुभावहरूको चिन्ता पुनः यस अघिको झैं विभिन्न दलका समूहको घनचक्करमा देश जाने जस्तो भयो भनेर आएका पत्रिका एवं सामाजिक सञ्जालका विविध लेख टिप्पणीको आधारमा एउटा सामूहिक आवाजको रूपमा लिइयोस् भनेर लेखिएको हो।
अतः चुनावमा जेनजी तथा युवा जमात र हामी आम नेपाली सबैले अत्यन्त सचेत बनेर हाम्रा उपयुक्त प्रतिनिधिलाई मात्र सांसद बनाएर पठाऔं, अन्यथा देश विग्रेको अपजस हामीलाई नै हुन्छ है!