नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रमुख नेताहरू बसेर छलफल गरी राजनीतिक संयन्त्र खारेज गर्न सकिने बताएका छन्।
सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच संयन्त्रले समस्या भयो भन्ने लाग्यो भने खारेज गर्न सकिने उनको भनाइ छ।
‘यदि सत्ता साझेदार दलहरूबीच संयन्त्रको अभ्यास एक हिसाबले समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरी त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार दलभित्रबाट कसैले पनि गर्न हुँदैन,’ सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भने, ‘दुई दलले गरेका सहमतिलाई निष्कर्षमा पुर्याउने गरी काम गर्नुपर्ने होइन र? आन्तरिक प्रतिस्पर्धाको अभ्यास महाधिवेशनमा हुन्छ, त्यसले गठबन्धन र सरकारलाई प्रभाव पार्न हुँदैन।’
राजनीतिक संयन्त्रमा कांग्रेस र एमालेका शीर्ष नेताहरू छन्।
उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई कांग्रेसकै ऊर्जा मन्त्री दीपक खड्काले हटाएको पनि बताएका थिए। साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेरै घिसिङ र ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाए पनि दोष प्रधानमन्त्रीलाई लगाउने गरिएकोमा उनले असन्तुष्टि जनाएका छन्।