उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले बस्ती विकास गर्दा त्यहाँ बसोबास गर्नेहरूका लागि आयआर्जनको वातावरण हुने गरी निर्माण गर्ने कुरामा जोड दिनुपर्ने बताएका छन्।
राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभामा आइतबार बोल्दै उनले बस्ती मात्र बनाएर पुग्दैन, त्यहाँ आयआर्जनको अवसर पनि हुनुपर्छ भनेका हुन्।
‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा योभन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ। जग्गा विकास पनि गर्नुछ। न्यूनतम रुपमा मानिसहरूलाई आवश्यक पर्ने आयआर्जन गर्न सक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उनले भने।
बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि उनको भनाइ थियो।
बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयमा ध्यान दिँदा राम्रो हुने उनले बताए।