नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि सरकारले अस्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेटमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभामा सोमबारदेखि सुरू भएको नीति तथा कार्यक्रमको छलफलका क्रममा संशोधनकर्ताका तर्फबाट बोल्दै पुनले सरकारले संसदलाई छलेर बजेट ल्याउन खोजेको पनि टिप्पणी गरे।
नीति मात्र उल्लेख गरिनु र कार्यक्रम समावेश नहुनुलाई उनले सरकारको राम्रो नियत नभएको रूपमा अर्थ्याए।
पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्व’को सरकारले तीन महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गराउने र संसदमा पर्याप्त छलफलपछि नीति कार्यक्रम र बजेट ल्याउने गरी कार्यतालिका बनाएकामा वर्तमान सरकारले त्यसलाई भत्काएको उनको भनाइ थियो।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले यति ढिला नीति तथा कार्यक्रममाथि छलफल गरेर त्यसबाट प्राप्त सुझाव समावेश गरी बजेट बनाउन असम्भव रहेको बताए ।
‘विगतमा नीति र कार्यक्रम साथसाथै प्रस्तुत गरिन्थ्यो। योपटक नीति मात्र प्रस्तुत गरियो, कार्यक्रम प्रस्तुत गरिएन। यसले के शंका पैदा गरको छ भने एकातिर नयाँ नीतिमा सरकारले मिहेनत गर्न नचाहेको वा नसकेको देखिन्छ। अर्कोतिर बजेटमा पर्यप्त चलखेल गर्न खोजेको जस्तो देखिन्छ। अर्कातिर सरकारले संसदलाई छलेर आफूखुसी कार्यत्रक्रमहरु राख्ने कुरा सही छैन संसदलाई छल्न मिल्दैन’, उनले भने।
पुनले अगाडि भने, ‘अमूर्त नीतिहरूका कारण सामाजिक न्यायसम्बन्धी कार्यक्रम के हुन्छ? महिला, दलित, जनजातिसम्बन्धी कार्यक्रमहरू के हुन्छ? छोरीहरूसम्बन्धी के हुन्छ? सिँचाइसम्बन्धी के हुन्छ? कर्णाली र सुदूरपश्चिमजस्तो विकासमा पछि परेका क्षेत्रका लागि के कार्यक्रम हुन्छ? त्यो स्पष्ट गरिएको छैन। यसमा सकारको असमक्षमता देखिएको छ।’
यस्तै नीति तथा कार्यक्रमले संकटमा रहेको अर्थतन्त्र चलायनमा बनाउन कुनै कार्यक्रम अघि नसारेको टिप्पणी उनले गरे ।
नीति तथा कार्यक्रम गन्तव्यहीन र अल्मलिएको मात्र नभई कतिपय दायित्वहरूबाट सरकार पछि हट्न खोजेको आरोप पुनले लगाए।