राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत वर्ष असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयनमा नगएको र मजाकको विषय बनेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद वाग्लेले झन्डै दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र यो कुरा अनौपचारिक रूपमा सत्तारूढ दलभित्रकै नेताहरूले स्वीकार्ने गरेको पनि बताए।
‘७ बुँदेमा हामी भ्रष्टाचार गर्दैनौं, सुशासन इत्यादि, त्यो एउटा मजाक भइसकेको छ,’ वाग्लेले भने, ‘आजकल टेलिभिजनमा कुनै कमेडी कार्यक्रम चलेनन् भने कुनै मन्त्रीलाई त्यहाँ उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ, पर्याप्त हुन्छ। जोक बनेको छ, मजाक बनेको छ।’
उनले सरकार बनेको यतिका समयसम्म संविधान संशोधनको एउटा प्रस्तावसमेत नभएको पनि बताए। सात बुँदे सहमतिमा संविधान संशोधनदेखि आलोपालो प्रधानमन्त्रीसम्म सहमति कांग्रेस र एमालेबीच भएको थियो।
दुई तिहाइ सरकारको लय, चरित्र, सामर्थ्य र ऐतिहासिकता हेर्दा सत्तारूढ दलभित्रै निराशा देखिएको उनको भनाइ थियो।