परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूलाई सम्मान गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार कार्यक्रम गरेर स्ववियु सभापतिहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए। २००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।
पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्ने उनले बताए।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले अब आफ्नो दलले गरेको गलत निर्णयमा समेत खबरदारी गर्नुपर्ने बेला आएको बताए।
कार्यक्रममा नेकपा (एमाले) का सांसद एवं पोलिटब्यूरो सदस्य ठाकुर गैरेले विद्यार्थी संगठनहरूले मातृ पार्टीलाई खबरदारी गर्नुपर्नेमा जोड दिए।
कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले अब देशको नेतृत्व गर्न पछिल्लो पुस्ता सक्षम रहेको बताए। उनले देशमा केही हुँदैन भनेर फैलाइएको निराशालाई वर्तमान पुस्ताले चिर्नुपर्ने बताए।
अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पन्चा सिंहले समयअनुकूल विद्यार्थी राजनीति र परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने बताएकी थिइन्।
कार्यक्रममा परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले २००७ सालदेखि अहिलेसम्मको व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे प्रष्ट पारेका थिए।
अहिलेको अवस्थामा विद्यार्थी राजनीतिले नै केन्द्रीय राजनीतिलाई मार्गनिर्देश गरेको उनको भनाइ छ।
साथै कार्यक्रममा राजनीतिक विश्लेषक पिताम्बर भण्डारी, सविन तामाङ लगायतले धारणा राखेका थिए।
यसैबीच परिवर्तन अभियानले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसबाट निर्वाचित स्ववियु सभापतिहरूलाई सम्मान गरेको छ।
काठमाडौंका विभिन्न क्याम्पसका २० जनाभन्दा बढी स्ववियु सभापतिलाई सम्मान गरिएको अध्यक्ष भट्टले बताए।