सत्तारूढ दल नेकपा (एमाले)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभव्यक्तिप्रति विरोध जनाएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रममा प्रचण्डको अभिव्यक्तिबारे आपत्ति जनाएका हुन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा रचनात्मक र सिर्जनात्मक सुझावको तहबाट भन्दा पनि आलोचनाको हिसाबले मात्रै दिएको उनले बताए।
त्यस्तै पटकपटक सरकारलाई दलाल र विचौलियाले बनाएको सरकार भनेकोप्रति पनि उनले आपत्ति जनाए।
'संविधानबमोजिम यो सरकार संसदले बनाएको हो। तर संसदले बनाएको सरकारलाई उहाँले हरेक पटक विचौलिया, दलाल, माफियाजस्ता असंसदीय अराजनीतिक शैलीहरू पटकपटक सुनिरहेका छौं सुन्न परिरहेका छौं। यसको दुःख व्यक्त गर्न चाहन्छु,' उनले भने।
पूर्वप्रधानमन्त्री र विपक्षी दलको नेताबाट त्यो स्तरको अभिव्यक्ति आउनु दुःखद रहेको उनले बताए।
'त्यो तहबाट पटकपटक यस प्रकारको पूर्वाग्रहप्रेरित र कुण्ठाग्रस्त अभिव्यक्तिको निरन्तरताले संसदीय मर्यादाको अपमान भएको छ। मर्यादाको च्यूत गरिएको छ। विरोध पनि गर्न चाहन्छु। ध्यानाकर्षण गर्न चाहन्छु'