नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै अहिले संघीयताको विरोधी रहेको बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित 'संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट' छलफल कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी संघीयता विरूद्ध रहेको बताएका हुन्।
'५० हजार, २५ हजारका सङ्घले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो। तल संयन्त्र छ, संरचना छ, उसले कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन। त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ। संघीयताको विरोधी अरू कोही होइन,संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन्,' उनले भने।
उनले प्रदेशले आफ्नो अधिकार नपाएको, त्यसका लागि कानुन नबनेको, बनेको कानुनको अधिकार पनि हस्तान्तरण नभएको उनले बताए।
'तलका सरकारहरूलाई दिइएको बजेट फिर्ता ल्याइन्छ। कुन योजना कसको भनेर छुटाइएको छैन। यसले हाम्रो संघीयताप्रतिको बुझाइ नै बेठिक रहेको देखाउँछ,' उनले भने। -न्युज एजेन्सी नेपाल